-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

 


"तपाई कुन पार्टी निकट ?"-म सेतोपाटी निकट !!!
©नारायण के.सी.पोख्रेल

मैले शिक्षक मासिक विद्यार्थी जीवन देखि नै  पढ्न थाले । त्यो क्रमलाई अहिलेसम्म सकेसम्म निरन्तरता दिने प्रयासमा छु। विद्यार्थी कालमा विद्यालय नजिकैको रातामाटा सामुदायिक अध्ययन केन्द्रमा शिक्षक मासिक आउथ्यो । शिक्षा र राजनीतिमा चासो राख्ने भएकाले कहिलेकाही शिक्षकका  पेशागत संगठनका नेताहरुसँग मागेर पनि पढ्ने गरिन्थ्यो । "शिक्षक"मासिकमा कहिले नमुना विद्यालयका कुरा आउथे, कहिले दुर्गमका विद्यालयका कथा त कहिले हेडसरका कथा अनि कहिले  प्रविधि,शिक्षा, निरन्तर विद्यार्थी मुल्यांकन तथा उदार कक्षोन्नति सम्बन्धि लेखहरु आइरहेकै हुन्छन् । केहि वर्ष पहिले एकदिन शिक्षक मासिकमा गिजुभाइको 'दिवास्वप्न' बारेको छोटो लेख(पुस्तक समिक्षा) पढ्ने अवसर मिल्यो ।  त्यो लेख पढेपछि मलाई एकपटक "दिवस्वप्न" पुस्तक पढ्न मन लाग्यो तर नजिकै पुस्तक पसल थिएन । 



केही समयपछि सुलिचौर बजारमा रहेको कुसुम स्टेसनरी पुगेर दाना दिदीलाई "दिवास्वप्न पुस्तक छ दिदी" भनेर सोधे । दिदीले छ भन्दै औलाको इशाराले पुस्तक देखाउनु भयो । मैले पुस्तक टिपेर सरसर्ती हेरे अनि " यो पुस्तक कस्तो छ दिदी" भनेर सोधे  तर दिदीले आफुले नपढेको तर धेरै सरहरुले लाग्नुभएको छ राम्रो छ रे पढ न भन्नु भयो । मलाई पनि पुस्तक समिक्षा पढेपछी दिवास्वप्न चाडै पढ्न रहर थियो अनि पुस्तक किनेर सरासर घरतिर फर्किए । घर पुग्दा अलि रात  परिसकेको थियो । खान खाए अनि पुस्तक पढ्न सुरु गरे गुजराती भाषामा लेखिएको पुस्तक हिन्दी हुदै नेपाली भाषामा अनुवादको प्रसंग रोचकता पूर्वक पढेर सुते । अर्को दिन बिहानै उठे-त्यो दिन विदाको दिन थियो । अनि फेरि पढ्न सुरु गरे, अलिक उज्यालो भएपछि एकछिन बाहिर निस्किएर बा'लाई सोधे-"बा, आज बाख्राले खाने घाँस छ कि छैन ।" बा'ले "छैन, किन र ?" भन्नु भयो । "बाख्रा फुकाइ दिनुस् म चराउन लैजान्छु"-भने। म पुस्तक लिन घर भित्र पसे । पुस्तक टिपे अनि तुरुन्तै बाहिर निस्किए । म बिहानै गोठालो जान खोज्नुको कारण पुस्तक एकै बसाईमा बढेर सिध्याउने चाहना थियो । सोही योजना बमोजिम मैले बाख्रा चराउन आफ्नै खरबारी तिर लागे । बाख्रा खरबारीमा चर्न थाले म भने नजिकै अलिक सजिलो ठाउँमा बसेर  पुस्तक पढ्न थाले । दिउँसो तिर पुस्तक पढेर सके अनि बल्ल सबै बाख्रा जम्मा पारेर घरतिर  फर्किए । समग्रमा "दिवास्वप्न" खोक्रो आदर्शबाट माथि उठेको यथार्थ र प्रयोगमा आधारित पुस्तक लाग्यो । 'दिवास्वप्न'लाई नेपालीमा अनुवाद गर्नु भएकोमा शरदचन्द्र अवस्थी सर


र प्रकाशक 'शिक्षक मासिक'लाई पाठकहरुको तर्फबाट  विशेष धन्यवाद ।



पुस्तक पढि सकेपछि मेरो मनमा धेरै सवालहरु उठे । आफ्नो वरिपरिको परिवेशलाई नियाले । म आफै शिक्षा विषय लिएर पढी रहेको थिए । अनि आफैलाई पनि मनमनै प्रश्न "के मन शंकर सरले जस्तै शैक्षिक सुधारका लागि पहल र  प्रयोग गर्न सक्छु त ?" 



हिजोआज हामी धेरै समय सामाजिक सञ्जालमा बिताउछौँ । सामाजिक सञ्जालले पुस्तक पढ्ने समय पनि खाइरहेको छ । मेरो पेशागत जीवनमा शिक्षक मासिक पत्रीका, दिवास्वप्न, तोत्तो-चान र टिकाराम रेग्मीको 'उज्यालो तिर'जस्ता पुस्तकले विशेष सहयोग पुर्‍याइ रहेको महशुस हुन्छ ।



म वि.सं: २०७४ साल देखि शिक्षण पेशामा आवद्ध छु । वि.सं: २०७९ आयोगबाट सिफारिस भएर रोल्पा नगरपालिकाको ५ नम्बर वडामा रहेको श्री बालहित प्राथमिक विद्यालयमा अध्यापन गरिरहेको छु । पहिलो दिन विद्यालय पुग्दा झसङ्ग भए अनि दिवास्वप्नका शंकर सर र उहाँको विद्यालय सम्झिए । उक्त विद्यालय विगत ६ महिना देखि शिक्षक विहीन रहेछ । धन्न विद्यालय सहयोगी र बाल विकास शिक्षकले विद्यालय संचालन गरि रहनु भएको रहेछ । करिब २ वर्ष देखि विविध कारणले नगर स्वयंसेवक शिक्षकको नियुक्ति हुन सकेको रहेनछ । वि.व्य.स.को कार्यकाल पनि सकिसकेको, शिक्षक-अभिभावक संघको नामावली नै भेटिएन । विद्यालयमा हाजिर भएसँगै सरोकारवालाहरुसँग समन्वय गरी  नयाँ वि.व्य.स. गठन गरियो । वि.व्य.स गठनसँगै विद्यालयको विभिन्न कामकारबाहीमा सहजता आयो । त्यसको १ महिना भित्रै सबै प्रक्रिया पुरा गरि नगर स्वयंसेवक शिक्षकका रूपमा बिमला के.सी. नियुक्त हुनु भयो । विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि छापामय कक्षा कोठा निर्माण,बाल सन्दर्भ सामग्री व्यवस्थापन, विद्यालय रंगरोगन,मर्मत देखि खानेपानी व्यवस्थापनका कामलाई अगाडि बढाइएको छ । 

यी सबै क्रियाकलाप संचालनमा सहकर्मी शिक्षक साथीहरू, स्थानीय सरकार/प्रदेश सरकार, वि.व्य.स.,अभिभावक तथा विभिन्न सरोकारवालाहरुको साथ र सहयोग रह्यो, सबै प्रति हार्दिक नमन।  'दिवास्वप्न'का शंकर सर जस्तो द्रुत परिवर्तन ल्याउन नसके पनि यी सबै कामलाई बिस्तारै अगाडि बढाउदै सुधार र परिवर्तनतर्फ उन्मुख छौँ जस्तो लाग्छ । यसक्रममा बिना कुनै सर्त हामीले विद्यालयलाई केहि सहयोग गर्न सक्छौँ कि भन्ने देखि तपाई हाम्रो पार्टी निकट हो कि होइन भन्ने सम्म भेटिनु भयो । विद्यालयका विभिन्न काम संचालन गर्न तथा शिक्षण सिकाइमा शिक्षक मासिकका विभिन्न सामग्री र 'दिवास्वप्न', 'तोत्तो-चान', 'उज्यालो तिर' जस्ता पुस्तकहरुले मलाई उर्जा प्रदान गरिरहेका छन् । काम गर्ने क्रममा विभिन्न मित्रहरूसँग भेट हुन्छ त्यस मध्ये "तपाई कुन पार्टी निकट भनेर जिज्ञासा राख्ने मित्रहरूलाई मेरो जवाफ हुन्छ - म सेतोपाटी निकट छु मित्र। त्यसैले हिजोआज सेतोपाटी र साना बालबालिकासँगै निकट रहेर काम गरिरहेको छु । बालबालिका आजका साझेदार, भोलिका कर्णधार !!!


नोट:- यो लेख शिक्षक मासिकको २०८१ भदौको अंकमा प्रकाशित भएको छ ।













Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …