तिमी के भन्छौ मीनेन्द्र ? -किशोर नेपाल

 तिमी के भन्छौ मीनेन्द्र ? 

➡️किशोर नेपालको टिप्पणी 


मेरा अत्यन्त प्रिय र आत्मीय मित्र हुन मीनेन्द्र रिजाल । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा हामीले संगै काम गरेका हौं । त्यो आन्दोलनलाई मध्यवर्ती भागतिरै छाडेर बिद्यार्थी नेता मीनेन्द्र रिजाल र अर्का बिद्यार्थी नेता प्रकाशशरण महत अमेरिकातिर लागे शिक्षा आर्जनका लागि । नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जन–आन्दोलनले देशमा संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्थापना गर्यो । त्यसको केही समयपछि उनीहरु नेपाल फर्किए ः डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महतका रुपमा । यी दुबै नेता शेरबहादुर देउवाका निकट मानिन्थे त्यतिखेर । 


राजनीतिमा मीनेन्द्र प्रखर थिए । पूर्वी नेपालको कुलीन रिजाल परिवारका सदस्य मीनेन्द्र र नुवाकोट जिल्लाका सम्पन्न महत परिवारका प्रकाशलाई कांग्रेसको राजनीतिमा ‘एडजष्ट’ हुन त्यति कठिन भएन । रहँदा बस्दा प्रकाश शरण आफना दाजु रामशरण महतको राजनीतिबाट टाढिए भने मीनेन्द्र शेरबहादुर देउवाको समूहबाट अलग्गिए । मीनेन्द्र र प्रकाश, दुबैको राजनीति अप्ठेरोमा फलेको फर्सी जस्तो थियो । मीनेन्द्रको कर्मक्षेत्र मोरंगमा आचार्य र कोइरालाका रुपमा चुनौतिका चांग थिए भने प्रकाशका लागि आफनै दाजु रामशरण महत र निर्दलीय पंचायत र बहुदलीय प्रजातन्त्रकालमा समेत ‘अपरिहार्य’ बनेका अर्जुन नरसिंह केसी र उनका भाइहरुको सामनागर्नु सजिलो थिएन । 

यो पटक मीनेन्द्रले संसदीय टिकट पाएनन । प्रकाशले समानुपातिकमा सुरक्षा खोजे । उनले नुवाकोटको राजनीतिमा अर्जुन नरसिंहको अपरिहार्यतालाई स्वीकार गरे । मीनेन्द्रको टिकट सुजाताले खोसिन । उनको एकमात्र योग्यता स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी छोरी हुनु हो । 

संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको समयमा होस वा त्यसपछि – डा. मीनेन्द्र र डा. प्रकाश दुबैको राजनीतिक खूबी देखिएन । समयको एक सीमासम्म डा. मीनेन्द्र रिजाल शेरबहादुर देउवासंग थिए । त्यसपछि, उनी सुशील कोइरालाको पछि लागे । डा. प्रकाश शरण महतले शेरबहादुर देउवाको साथ अहिलेसम्म छाडेका छैनन । 

यी दुबै नेतामा अनन्त राजनीतिक सम्भावना थिए । अमेरिकामा पढेका र पढाएका । देशमा राजनीति गरुन्जेल दुबै जुझारु थिए । अझ मीनेन्द्र त बीपी कोइरालाका पनि प्रिय थिए । यी दुबै नेतामा सम्भावना पूर्ण भएर पनि साहसको अभाव थियो । दुबैले न त पार्टी, सरकार र ब्यबस्थामा सुधारका लागि दवाव सिर्जना गर्न सके न त राजनीतिक सुविधा लत्याउने आँट नै गरे । अन्ततः उनीहरुको आँखा अगाडि माओवादी आन्दोलन चर्कियो । यसको सामना र समाधानगर्ने साहस मीनेन्द्र र प्रकाशले मात्रै होइन, अरु युवा नेताले पनि देखाउन सकेनन । 

देशको अवस्था अहिले पनि उस्तै छ । फरक यति हो कि अहिले राजतन्त्र छैन । सेना, पुलिस, साहू, महाजन, कर्मचारी र कुलीनतन्त्रको हैकम र दवदवा उस्तै छ । हामी यस्तो गणतन्त्रमा छौं जहाँका नेता भनाउँदाहरुले गणतन्त्रको महत्व नै बुझेका छैनन । उनीहरु कुलीन वर्गको कमाराको हैसियतमा रहेकाछन । 

साँच्चै भन्ने हो भने, अहिले कांग्रेस, माओवादी र कम्युनिष्टका नेताहरु राजनीतिमा आपूmले गरेको लगानी उठाउँदैछन । एकथरि कम्युनिष्टले त पन्चायतकालदेखि नै राजतन्त्रबाट प्राप्त सुविधाको उपभोग गरेका हुन । समाजवादी चिन्तक प्रदीप गिरि भन्ने गर्नु हुन्थ्यो, ‘अहिलेको समय लिंगोदर सभ्यताको समय हो । मानिस आफनो लिंग र उदरको चिन्तामा डुबेकोछ ।’

जे होस, मीनेन्द्रले टिकट पाएनन । ब्यक्तिगत हिसावले मलाइ यसमा दुःख लागेको छ । मन पनि खिन्न छ । उनले टिकट पाएको भएपनि गर्न त केही सक्दैनथे । कहिलेकहीं संसदको रोष्ट्रममा उभिएर दुइचार कुरा सुनाउथे । त्यति हो । 

दुःखको कुरा हाम्रो पुस्ताले लोकतन्त्र पुनस्र्थापनाको त्यति लामो लडाइ लड्यो । यो लडाइमा सयौं साथीहरु शहीद भए । तर, देशमा चाहिएको जस्तो गुणात्मक परिवर्तन भएन । यो नै दुःखद कुरा हो ।

तिमी के भन्छौ मीनेन्द्र ?        (यो लेख/टिप्पणी किशोर नेपालको फेसबुकबाट साभार गरिएको हो।)

Comments

Popular posts from this blog

सुप्रीमोलाई नागरिक प्रश्न…!

ने.क.पा. फुटको नजिक पुगेकै हो त…? महासचिव देखि विभिन्न विद्वानको ने.क.पा विवादमा टिप्पणी

इभानको एक प्रेरणादायी कथा || इभानले किन त्यसो गरे ?