लुकाइ राखेका हतियार…?
➡️लुकाइएको हतियार… 🔥
🖋️✏️📝देवप्रकाश त्रिपाठी (लेखक-तुषानल)
बाह्रबुँदे सम्झौता र आन्दोलन हुँदै राजालाई पछि हट्न बाध्य गराएर २०६३ सालमा माओवादीलाई 'वैधानिक' राजनीतिक गतिविधिमा सामेल गराइसकेपछि पनि प्रचण्ड आफूसँग भएको हतियार सबै राज्यलाई बुझाउन चाहँदैनथे, उनी केही राम्रा हतियारहरू लुकाएर सम्पूर्ण हतियार बुझाएको सन्देश दिन चाहन्थे। तथापि आफूले सबै हतियार बुझाउन चाहेको जानकारी गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले गराएका थिए । तर, माओवादीसँग भएका सम्पूर्ण हतियार नबुझाइयोस् भन्ने भनाइ गिरिजाको पनि रह्यो, जुन प्रचण्ड आफै पनि चाहन्थे । राजा र सेनाबाट कुनै पनि बेला खतरा पैदा हुने आशङ्का र त्रास गिरिजामा थियो। त्यसैले प्रचण्डलाई उनले सबै हतियार नबुझाउन र केही थान राम्रा हतियार आफैँसँग लुकाएर राख्न सुझाव दिएका थिए। आफ्नो इच्छा र योजनाअनुरूपकै सुझाव गिरिजाबाट पाएर प्रचण्ड निकै खुशी बनेका थिए ।
नेपालमा संयुक्त राष्ट्रसङ्घ (अनमिन) को प्रवेश हुनुअघि नै हतियार थन्क्याउन भारतले कन्टेनरहरू उपलब्ध गराएको थियो । अनमिन (UNMIN) को आगमनपछि भारतले उपलब्ध गराएको कन्टेनरमा उसले ट्याग लगाएर सिलबन्दी गरेको थियो । ट्याग लगाइएका हतियारमध्ये केही थान माओवादी नेताहरूको सुरक्षाका निम्ति प्रयोग भएका थिए । तर, अनमिनले कन्टेनरमा ट्याग लगाउनुअघि नै गिरिजाको सुझावअनुसार प्रचण्डले बाह्र सय (१२००) थान अत्याधुनिक हतियार लुकाइसकेका थिए।
माओवादीको लडाकु शिविरहरुमध्ये केहीमा हतियार लुकाइएको थियो । गुप्त सावधानीपूर्वक प्लास्टिकले बेरी, ठूला पानीट्याङ्की भित्र शिविरभित्रै ठूलो खाडलमा ती ट्याङ्कीहरू पुरिएको थियो । स्वयम् नेहरूलाई समेत केका निम्ति खाडल खनिएको भन्ने थाहा थिएन। तिलाई प्लास्टिकमा बेर्नका लागि एकथरी छापामारहरूको प्रयोग भएको थियो भने त्यसलाई कालो ट्याङ्कीमा राख्ने काम अर्कैथरीले गरेका थिए।
खाल्डो खन्ने काम एकथरीबाट भएको थियो र मध्यरातमा खाडलभित्र राख्ने तथा त्यसलाई माटोले पुर्ने काम अर्कैथरीबाट गराइएको थियो । यसरी हतियार लुकाइएको जानकारी गिरिजाप्रसाद कोइराला, प्रचण्ड, बाबुराम भट्टराई डा. अमरेशकुमार सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र तत्कालीन भारतीय संस्थापनलाई थियो ।
त्यसताक योङ कम्युनिष्ट लिग (वाईसीएल) को नाममा पनि विभिन्न स्थानमा ब्यारेक बनाएर लडाकु राखिएका थिए । राजधानी र खासगरी शहरी क्षेत्रमा वाईसीएलका गतिविधि यसरी बढेर गएको थियो कि आममानिस वाईसीएल नाम सुनेरै त्रसित र आतङ्कित हुन्थे । वाईसीएल गतिविधि अवाञ्छित ढङ्गले बढेपछि गिरिजाप्रसाद कोइराला र भारतीय संस्थापनले त्यसलाई नियन्त्रण गर्न प्रचण्डसँग बारम्बार आग्रह गरे । प्रचण्डले वाईसीएल गतिविधि नियन्त्रण गर्न रकम आवश्यक पर्ने भन्दै तत्कालीन रअका काठमाडौं स्टेसन प्रमुख आलोक जोशीसँग बीस करोड भारु माग गरे । तर, त्यसनिम्ति नगद उपलब्ध गराउन भारत राजी भएन, कालान्तरमा वाईसीएलको क्याम्प हटाउन प्रचण्ड बाध्य भएका थिए ।
त्यसताक माओवादी लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्ने कुरालाई माओवादीले उच्च प्राथमिकता दिएको थियो । सेनाभित्र काङ्ग्रेस र भारतले भरोसा गर्ने अधिकृत थिए- गौरवशमशेर जबरा । रुकमाङ्गद कटवाल र छत्रमान गुरुङ सेनापति हुँदा पनि काङ्ग्रेस र भारतले तत्कालीन मेजर जनरल गौरवशमशेरसँग नै अनौपचारिक तर संवेदनशील कुराकानी गरिरहेका हुन्थे ।
यसरी सेनामा लडाकु समायोजनका निम्ति व्यापक छलफल चलिरहँदा प्रचण्डको चिन्ता भने बेग्लै थियो । लुकाएर राखेको हतियारलाई उपलब्धिमूलक किसिमले कसरी तह लगाउने भनी उनी जुक्ति निकालिरहेका थिए । यसैबीच, आफूलाई आर्थिक सङ्कट परेको भन्दै प्रचण्डले लुकाइएको बाह्र सय थान हतियार खरिद गरिदिन आफ्नो संयन्त्रमार्फत भारतलाई बारम्बार सन्देश पठाइरहे । सुरुमा भारतले यसको प्रतिक्रिया दिन आवश्यकता ठानेनन्, प्रचण्डले धेरै पटक खबर पठाएपछि अन्तमा भारतले उक्त कुरा अस्वीकार गर्दै यस्तो कुरामा हामी संलग्न हुँदैनौ, त्यो हतियारबारेमा हामी केही गर्न सक्दैनौं भन्ने जवाफ फर्कायो। भारतीय पक्षले त्यस्तो जवाफ पठाएपछि प्रचण्ड र बाबुरामले यदि लुकाइएका यी हतियारहरू भारतले खरिद गर्दैन भने, भारतमा माओवादी विद्रोहीहरू छन् र उनीहरूले पनि हामीसँग यस विषयमा सम्पर्क गरिरहेका छन्। अब हामीले अर्कै तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ भन्दै भारतलाई चेतावनी दिए । ब्ल्याकमेलिङ' को शैलीमा यस्तो सन्देश फर्काएपछि भारतका अनौपचारिक प्रतिनिधिहरू बाध्य भएर हतियारबारे कुराकानी गर्न नेपाल आए ।
यदि भारतले हतियार किनिदिएन भने प्रचण्डले उक्त हतियार भारतकै कुनै आतङ्कवादी समूहलाई बिक्री गर्न पनि सक्ने सम्भावना रहेको भन्ने सन्देश तत्कालीन रअ प्रमुख सञ्जीव त्रिपाठीसम्म पुऱ्याइएको थियो । भारतको सुरक्षामा गम्भीर धक्का पुग्ने यस किसिमको संवेदनशील जानकारी राजदूत जयन्त प्रसादमार्फत आउनेबित्तिकै सञ्जीव त्रिपाठी आफैँ नेपाल आएका थिए । त्यसताक प्रचण्ड लाजिम्पाटमा बसोवास गर्ने गर्दथे । प्रचण्डको उक्त निवासमा प्रचण्ड, बाबुराम, सञ्जीव त्रिपाठी र जयन्त प्रसादबीच गुप्त बैठक भयो। बैठकमा बीस करोड नेपाली रूपैयाँ माओवादी नेतालाई दिएर हतियार व्यवस्थापन गर्ने सहमति बन्यो ।
रकममा सहमति भइसकेपछि हतियार कसरी, कहाँ, कसले दिने लिने भन्नेबारे छलफल हुँदा प्रचण्डले नेपालभित्रै उपलब्ध गराइने अडान लिएका थिए, तर भारतीय पक्ष त्यसमा मञ्जुर भएन । भारतको सीमाक्षेत्रसम्म हतियार पुयाउने व्यवस्था प्रचण्ड-बाबुरामले नै गरिदिनुपर्नेमा भारतले जोड दिएपछि अन्ततः प्रचण्ड-बाबुराम र सञ्जीव जयन्तबीच महेन्द्रनगर हुँदै वनवासा सम्म हतियार पुन्याइदिनुपर्ने सहमति बन्यो ।
त्यसबेला माओवादी पार्टी विभाजन भएको थियो, प्रचण्ड-बाबुरामले क्रान्तिको लाइन परित्याग गरेको भन्दै मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव पार्टीबाट बाहिरिएका थिए र उनीहरूबाट माओवादी लडाकु शिविरमा विद्रोह गराउने योजनाबद्ध प्रयास पनि भइरहेको थियो।
त्यसरी हतियार व्यवस्थापन गर्ने सहमति बनेपछि नवलपरासी र सुर्खेतका शिविरमा सुरक्षित लुकाएर राखिएका हतियार रातारात निकालेर प्रचण्ड बाबुरामले जङ्गलमा लुकाउन लगाएका थिए। तर, दुवै शिविरबाट नजिकको जंगलमा पुयाएर लुकाइएको हतियार वनबासा पठाउने उद्देश्यले केही दिनपछि जाँदा भेटिएन। दुवै ठाउँबाट हतियार चोरी भइसकेको थियो। यसरी यवस्थापन गर्न खोजिएको हतियार चोरी भएपछि उक्त योजना तुहियो। हतियार विप्लवले लगेको हुन सक्ने अनुमान प्रचण्ड-बाबुरामले गरे ।
दुईवटा शिविरका हतियार हराएपछि प्रचण्ड र बाबुरामले बाँकी पाँचवटा शिविरमा लुकाएर राखिएका हतियार जनरल गौरवशमशेर जबरामार्फत सेनालाई बुझाइ दिएका थिए । लुकाएको हतियार त्यसरी बुझाइएको कुरा सार्वजनिक नगर्ने सर्त प्रचण्ड-बाबुरामले राखेका थिए। त्यसपछि लडाकु शिविर भित्र विद्रोह भड्किन सक्ने सम्भावनालाई दृष्टिगत गरी प्रचण्ड र बाबुरामले सबै लडाकु शिविर रेखदेख तथा नियन्त्रण गर्ने जिम्मा नेपाली सेनालाई दिन प्रस्ताव गरेका र सोही अनुरूप सरकारले निर्णय लिएको थियो।
भारतलाई तर्साएर बीस करोड नगद सङ्ग्रह गर्ने प्रचण्ड-बाबुरामको योजना यसप्रकारले असफल भएको थियो । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार (NSA) शिवशङ्कर मेननलाई समेत रअका प्रमुख सञ्जीव त्रिपाठीले माओवादीद्वारा लुकाइएको हतियार व्यवस्थापनमा आफू लागिपर्न बाध्य हुनुको कारण स्पष्ट गर्दै त्यसमा सहमत गराइसकेका थिए । तर, पूर्वनिर्धारित कार्यक्रम अनुरूप तोकिएको परिमाणको हतियार वनबासा पुयाउन नसकेपछि प्रचण्ड-बाबुरामले भारतीय अधिकारीसमक्ष लज्जानुभूति गर्नुपरेको थियो। (तुषानल पुस्तक बाट साभार)
सतहमा जे देखिन्छ यथार्थमा त्यो हुँदैन राजनीतिमा। नेपालको राजनीतिक रंगमञ्चको पर्दा पछाडिको नेपथ्यामा चासो राख्ने पाठकहरुको लागि राम्रो खुराक रहेछ, एकपटक पढौँ 🙏
Comments
Post a Comment