व्यवस्था फेरियो अवस्था फेरिएन…???

 ➡️एक प्रतिनिधि घटना↕️


एक समय थियो:- "कि मिलिशिया कि मलेसिया"


पूर्व-मिलिशिया सन्दीप घर्ती भने मलेसिया पुग्न सकेका छैनन्। माओवादी अभियानमा मिलिशिया भने बने । उनी जीविकोपार्जनका लागि कहिले खोटो निकाल्न काला पहाड पुग्छन् त, कहिले यार्सा टिप्न सेता पहाड-हिमालय पुग्छन् यति गर्दा घरको छानो फेर्ने मेसो मिलेको छैन । सरकारले फुसको छानो विस्तापन गर्ने कार्यक्रम पनि संचालन गरिरहेको छ । जस्तापाता पनि वितरण भइरहेकै छ । तर त्यो कार्यक्रमले अझै उनलाई छोएको छैन, शायद उनी नेताको पटक-पटक परिक्रमा गर्न सक्दैनन् वा पहुँच पुग्दैन । तैपनि एक पटक आफ्नो गुनासो सरकारलाई भेटेरै सुनाए तर सरकारबाट अहिले तत्कालै टिन दिन नसकिने तर असोजसम्म पक्का टिन पाउने आश्वासन पाएकापछी मुसुक्क मुस्कुराएका थिए तर ५ वर्ष बितिसक्दा पनि त्यो असोज अझै आइ पुगेन ! हजुरहरुको त प्रत्येक वर्ष नै आउँछ नि है असोज उहाँलाई असोज कहिले आउला ? शायद  असोज आउला र सरकारले दिएको टिन लाउला भनेर मीठो आशा पाल्दै कुनै एकान्त सुनसान पहाडमा खोटे सल्लाका बोटलाई मुसार्दै हुनु होला सन्दीप दाइ(पूर्व-मिलिशिया)…। यहि प्रसंगमा निभा शाह एउटा सिर्जना याद आउछ ➡️ https://youtu.be/HXU2wQ5cpuY



सन्दीप दाइको कसैसँग गुनासो छैन किनकि यस्तै - यस्तै अवस्था उनको मात्रै होइन उनीसँगै अभियान र आन्दोलनमा लागेका हजारौं युवाको अवस्था अहिले पनि उस्तै-उस्तै छ परिवर्तनको महसुस त केही सय/हजार नेताहरुले नै त गर्नु भएको छ । 

उनी सन्तुष्ट छन् । घर नजिकैबाट मोटरबाटो गएको छ टोल छिमेकी प्रायः सबैको जस्ता(टिन)को  छानो छ । अनि कहिले काहिँ खेल्दै गर्दा सानो ४/५ वर्षको छोरो संगितले फ्याट्टै सोध्छ-"बा हाम्रो घरमा कहिले टिन लाउने ?" अनि सन्दीप दाइ बनी बनाउ जवाफ छदैछ-"असोजमा" यस्ता हजारौं सन्दीपका लागि त्यो असोज कहिले आउला…? टाढाबाट बोलेको नसुन्ने समस्या हुनसक्छ त्यसैले नजिकै हुनेले सोधपुछ गरिदिनुस है हामीलाई प्रत्येक वर्ष आउने असोज, सन्दीप जस्ता हजारौं नागरिकलाई  विभिन्न वाहाना र प्रसंगका भनिएका वा बाडेका आश्वासनयुक्त असोज उनको घरसम्म कहिले आउछ सरकार…??? भनेर । सन्दीप त एक प्रतिनिधि पात्र न त हुन् । यस्तै हजारौं सन्दीपहरुलाई बाँडिएको सपना अधुरै छन् । खाना, नाना, छाना फेर्न लाखौं सन्दीपहरु मलेसिया-खाडी देखि कालापहाड,सेतापहाड(हिमाल) र सिम्लाका बारीमा पसिना बगाइ रहेका छन् अनि आफ्ना छोराहरुको अबोध प्रश्नमा असोज आउछ अनि छानो फेरिन्छ भन्ने बनिबनाउ जवाफ दिइरहेका छन् । तर केहि सय र हजार नेताको जीवन शैलीमा भने ठुलो परिवर्तन प्रष्टै देखिन्छ । हिजो हाम्रै घरमा सेल्टर बनाएर ढिडो,सिस्नो, मकै-खाजा खाएर हाम्रै बारीमा काम गर्दै जनकम्युन देखि वर्ग विहीन समाजकोसम्मको कुरा सुन्दा हामीलाई त्यो दिन कहिले आउला भन्ने लाग्थ्यो आशाको नयाँ सञ्चार हुन्थ्यो भित्राभित्रै खुशीले काउकुती लागे जस्तो हुन्थ्यो । हिजो सपना बाँड्नेहरुको वर्ग रुपान्तरण भयो- नव-धनाढ्यको रूपमा उदय भयो तर सपना सुनेर उत्साहित र आशावादी बन्ने भुइँ मान्छेहरु जहाँको त्यहीँ…… 


अनि मनमा एउटा गम्भीर सवाल उठ्छ,

के केहि सय/हजारको जीवनमा परिवर्तन ल्याउन मात्रै यत्रो बलिदान आवश्यक थियो र…? 



यो अवधिमा विभिन्न रंग र वाद बोकेकाहरु सरकारमा पुगे तर त्यसले आधारभूत वर्ग र भुइँ मान्छेलाई परिवर्तनको महसुस गराउन सकेन । नारा भने आमूल परिवर्तन कै थियो ! जुन व्यवस्था र सरकार भए पनि "तरमारा" वर्गलाई भने कुनै फरक परेको छैन किनकि उनीहरूको भागमा त सधैं तरैतर छदैछ । तर भुइँ मान्छेका दु:ख र पिडा भने उस्तै छन् । बजारमा गयो महङ्गी, कार्यालयमा गयो ढिलासुस्ती, अस्पताल चिकित्सक विहीन यस्तै-यस्तै छ। अनि वैज्ञानिक र जनवादी शिक्षा कस्तो हुन्छ ??? 




संविधानमा त समाजवाद उन्मुख लेखेकै छ …

व्यबहारमा भोगिरहेकै छौँ …



व्यवस्था फेरियो नागरिककि अवस्था फेरिएन…

Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …