व्यवस्था फेरियो अवस्था फेरिएन…???

 ➡️एक प्रतिनिधि घटना↕️


एक समय थियो:- "कि मिलिशिया कि मलेसिया"


पूर्व-मिलिशिया सन्दीप घर्ती भने मलेसिया पुग्न सकेका छैनन्। माओवादी अभियानमा मिलिशिया भने बने । उनी जीविकोपार्जनका लागि कहिले खोटो निकाल्न काला पहाड पुग्छन् त, कहिले यार्सा टिप्न सेता पहाड-हिमालय पुग्छन् यति गर्दा घरको छानो फेर्ने मेसो मिलेको छैन । सरकारले फुसको छानो विस्तापन गर्ने कार्यक्रम पनि संचालन गरिरहेको छ । जस्तापाता पनि वितरण भइरहेकै छ । तर त्यो कार्यक्रमले अझै उनलाई छोएको छैन, शायद उनी नेताको पटक-पटक परिक्रमा गर्न सक्दैनन् वा पहुँच पुग्दैन । तैपनि एक पटक आफ्नो गुनासो सरकारलाई भेटेरै सुनाए तर सरकारबाट अहिले तत्कालै टिन दिन नसकिने तर असोजसम्म पक्का टिन पाउने आश्वासन पाएकापछी मुसुक्क मुस्कुराएका थिए तर ५ वर्ष बितिसक्दा पनि त्यो असोज अझै आइ पुगेन ! हजुरहरुको त प्रत्येक वर्ष नै आउँछ नि है असोज उहाँलाई असोज कहिले आउला ? शायद  असोज आउला र सरकारले दिएको टिन लाउला भनेर मीठो आशा पाल्दै कुनै एकान्त सुनसान पहाडमा खोटे सल्लाका बोटलाई मुसार्दै हुनु होला सन्दीप दाइ(पूर्व-मिलिशिया)…। यहि प्रसंगमा निभा शाह एउटा सिर्जना याद आउछ ➡️ https://youtu.be/HXU2wQ5cpuY



सन्दीप दाइको कसैसँग गुनासो छैन किनकि यस्तै - यस्तै अवस्था उनको मात्रै होइन उनीसँगै अभियान र आन्दोलनमा लागेका हजारौं युवाको अवस्था अहिले पनि उस्तै-उस्तै छ परिवर्तनको महसुस त केही सय/हजार नेताहरुले नै त गर्नु भएको छ । 

उनी सन्तुष्ट छन् । घर नजिकैबाट मोटरबाटो गएको छ टोल छिमेकी प्रायः सबैको जस्ता(टिन)को  छानो छ । अनि कहिले काहिँ खेल्दै गर्दा सानो ४/५ वर्षको छोरो संगितले फ्याट्टै सोध्छ-"बा हाम्रो घरमा कहिले टिन लाउने ?" अनि सन्दीप दाइ बनी बनाउ जवाफ छदैछ-"असोजमा" यस्ता हजारौं सन्दीपका लागि त्यो असोज कहिले आउला…? टाढाबाट बोलेको नसुन्ने समस्या हुनसक्छ त्यसैले नजिकै हुनेले सोधपुछ गरिदिनुस है हामीलाई प्रत्येक वर्ष आउने असोज, सन्दीप जस्ता हजारौं नागरिकलाई  विभिन्न वाहाना र प्रसंगका भनिएका वा बाडेका आश्वासनयुक्त असोज उनको घरसम्म कहिले आउछ सरकार…??? भनेर । सन्दीप त एक प्रतिनिधि पात्र न त हुन् । यस्तै हजारौं सन्दीपहरुलाई बाँडिएको सपना अधुरै छन् । खाना, नाना, छाना फेर्न लाखौं सन्दीपहरु मलेसिया-खाडी देखि कालापहाड,सेतापहाड(हिमाल) र सिम्लाका बारीमा पसिना बगाइ रहेका छन् अनि आफ्ना छोराहरुको अबोध प्रश्नमा असोज आउछ अनि छानो फेरिन्छ भन्ने बनिबनाउ जवाफ दिइरहेका छन् । तर केहि सय र हजार नेताको जीवन शैलीमा भने ठुलो परिवर्तन प्रष्टै देखिन्छ । हिजो हाम्रै घरमा सेल्टर बनाएर ढिडो,सिस्नो, मकै-खाजा खाएर हाम्रै बारीमा काम गर्दै जनकम्युन देखि वर्ग विहीन समाजकोसम्मको कुरा सुन्दा हामीलाई त्यो दिन कहिले आउला भन्ने लाग्थ्यो आशाको नयाँ सञ्चार हुन्थ्यो भित्राभित्रै खुशीले काउकुती लागे जस्तो हुन्थ्यो । हिजो सपना बाँड्नेहरुको वर्ग रुपान्तरण भयो- नव-धनाढ्यको रूपमा उदय भयो तर सपना सुनेर उत्साहित र आशावादी बन्ने भुइँ मान्छेहरु जहाँको त्यहीँ…… 


अनि मनमा एउटा गम्भीर सवाल उठ्छ,

के केहि सय/हजारको जीवनमा परिवर्तन ल्याउन मात्रै यत्रो बलिदान आवश्यक थियो र…? 



यो अवधिमा विभिन्न रंग र वाद बोकेकाहरु सरकारमा पुगे तर त्यसले आधारभूत वर्ग र भुइँ मान्छेलाई परिवर्तनको महसुस गराउन सकेन । नारा भने आमूल परिवर्तन कै थियो ! जुन व्यवस्था र सरकार भए पनि "तरमारा" वर्गलाई भने कुनै फरक परेको छैन किनकि उनीहरूको भागमा त सधैं तरैतर छदैछ । तर भुइँ मान्छेका दु:ख र पिडा भने उस्तै छन् । बजारमा गयो महङ्गी, कार्यालयमा गयो ढिलासुस्ती, अस्पताल चिकित्सक विहीन यस्तै-यस्तै छ। अनि वैज्ञानिक र जनवादी शिक्षा कस्तो हुन्छ ??? 




संविधानमा त समाजवाद उन्मुख लेखेकै छ …

व्यबहारमा भोगिरहेकै छौँ …



व्यवस्था फेरियो नागरिककि अवस्था फेरिएन…

Comments

Popular posts from this blog

सुप्रीमोलाई नागरिक प्रश्न…!

ने.क.पा. फुटको नजिक पुगेकै हो त…? महासचिव देखि विभिन्न विद्वानको ने.क.पा विवादमा टिप्पणी

इभानको एक प्रेरणादायी कथा || इभानले किन त्यसो गरे ?