पैसा नहुँदा कार्यालयको चिया पिउन नमान्ने छविलाल
पैसा नहुँदा कार्यालयको चिया पिउन नमान्ने छविलाल
..............
...............................................
मोबाइल ग्यालरीमा उनको फोटो देखेर सम्झिएँ ।
कुरो केही महिना अगाडिको हो । म प्रशासन कार्यालयको मुद्दा फाँटमा छिरेँ । कुर्सीमा बसेँ । फाँटको कुरा गर्दै थिएँ । छेऊमा एकजना वयस्क उभिएका थिए । उमेर सोध्न मन लागेन । ५४–५५ का हुँदा हुन् । सानो कदका छविलाल विक ।
मञ्जु दिदीले ट्रेमा केही कप कालो चिया ल्याईन् । पदीय हिसाबले पहिले मछेऊ आईन् । मैले छविलालतिर देखाउँदै पहिले उहाँलाई दिन संकेत गरेँ । दिदीले ट्रे उतै तेर्स्याइँन् । उनले चिया लिन मानेनन् । आफै चिया लिनु न भनेँ ।
चियाको कप उठाउन मान्दै मानेनन् ।
किन ? चिया पिउनु हुन्न र ?
"पिउँछु ।"
उसोभए लिनु न त ।
"पैसा छैन हजुर (हात जोड्दै) ।"
उनलाई सोचेछन् चियाको पैसा तिर्नुपर्छ ।
लाग्यो उनी सरकारी कार्यालयमा बिरलै गएका होलान् । जहाँ गए त्यहाँ यसरी चिया पिउने अफर पनि सायदै आयो होला ।
म छाँगाबाट खसेझै भएँ । उफ ! सेवाग्राही र हामी कर्मचारीको बीचमाको 'ग्याप' ।
पैसा तिर्नुपर्दैन पिउनुस् ।
बल्ल बायाँ हात अगाडि सारे ।
म बसिरहेको कुर्सीबाट उठेर उनलाई बस्न भनेँ ।
त्यो पनि पहिलो अनुरोधमै मानेनन् । पछि बसे ।
दायाँ हात रातो कपडाले बेरेका थिए । पोहोर दशैंताका जंगलमा जाँदा लडेर मर्किएको अरे । उपचार गर्दा ठीक नभएपछि यत्तिकै बाँधिराखेका । सोचे जिल्ला अस्पतालमा उपचारको लागि भनिदिन्छु । तर त्यहाँ उपचार गराइसकेका रहेछन् ।
आज यहाँ आउनुको कारण सोधेँ । छोरोले बसमा पाकेट मारेको रहेछ । ३,२५० रुपैयाँ र अरू केही । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएछ । सात हजार धरौटी र केही क्षतिपूर्ति गरी करिब नौं हजार तिर्नुपर्ने फैसला पछि सो तिर्न नसकेर २९ दिन थुनामा बसेको रहेछ । त्यही छोरालाई छुटाउन आएका ।
छविलाल सुरूप सुरूप चिया पिउन थाले ।
म केही बोलिनँ । जिन्दगीका पहेलीहरु सोचेँ र ल चाँडो गर्दिनुस् है उहाँको काम भन्दै निस्किएँ ।
(पुनश्च....माफी चाहन्छु । उहाँको फोटो सार्वजनिक गरे । तर यही यथार्थ हो ।....) ©यो लेख- लोकप्रिय प्रशासक गोकर्ण उपाध्याय सरको फेसबुक पेजबाट साभार गरिएको हो।🙏🙏🙏
Comments
Post a Comment