सार्वजनिक शिक्षामा राज्यको लगानी


-नारायण के.सी पोख्रेल

कोरोना(covid19)ले विश्वव्यापी महामारीको रुप लिइसकेको छ। जसका कारण अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि प्रभावित भएको छ। शिक्षा क्षेत्र प्रभावित भए पछी विद्यालय तह देखि विश्वविद्यालय तहसम्मको नियमित पठनपाठन प्रक्रिया अवरुद्ध भएको छ। सरकारले सिकाइ सहजीकरण प्रक्रिया अगाडि बढाउनका लागि विभिन्न प्रयास पनि अगाडि बढाइरहेको छ जस्तै-वैकल्पिक विधिको प्रयोग। तर ती सबै प्रयासहरु खासै प्रभावकारी हुन सकिरहेका छैनन्। शैक्षिक वर्ष नै खेर जाने हो कि भन्ने चिन्ता पनि बढ्दो छ। यसै सन्दर्भमा सरकारले पाठ्यक्रम संशोधन गरेको छ। शैक्षिक वर्ष खेर जान नदिन विज्ञहरुसँग परामर्श जारी छ। अब विद्यालय संचालन गर्ने,नगर्ने भन्ने विषयमा निर्णय स्थानीय सरकारले गर्न सक्नेछन्। कुनै स्थानीय सरकारले विद्यालय संचालन गरिसके भने केहि पर्ख र हेरको अवस्थामा छन्। कोरोना(Covid19)को संक्रमण भने कायमै छ। यस्तो परिस्थितिमा सिकाइ प्रक्रिया कसरी अगाडि बढाउने त? आज हामी यसै सन्दर्भमा यो लेख मार्फत बहस तथा छलफललाई सुरुवात गर्दैछौँ।

यो विषम परिस्थितिमा शिक्षा मन्त्री ज्यु र मन्त्रालयले विद्यार्थीहरुको सिकाइमा प्रविधि तथा वैकल्पिक विधिको प्रयोगमा जोड दिए पनि कार्यान्वयन तथा प्रयोगको अवस्था भने दयनीय नै छ। सिकाइमा  प्रविधिको प्रयोगमा तल बस्तीमा रहेका आधारभूत विद्यालय देखि विश्व विद्यालय तहसम्मको अवस्था लगभग उस्तै कमजोर नै छ। भन्न त हामी २१औं शताब्दी प्रविधिको युग हो भन्छौं।हाम्रो शिक्षाको अवस्था किन यस्तो भयो त भनी सरोकारवालाहरुले गम्भीरतापूर्वक सोच्ने बेला आएन र?

बालबालिकाको सिकाइमा वैकल्पिक विधिका बारेमा छलफल गर्दै गर्दा केहि सवालहरु उठ्ने गरेको छन्।
ती हुन् -
१-विद्यालय बाहिर सिकाइ मैत्री वातावरण नै छैन त?
२- किन विद्यालय भित्र र बाहिर सिकाइ मैत्री वातावरण छैन ? यदि छ भने अवस्था कस्तो छ ?
३- हामीले विद्यालय बाहिर पनि सिकाइ मैत्री वातावरण बनाउन के कस्ता प्रयास गर्‍यौँ?
४-पछिल्लो पटक सरकारले सिकाइमा वैकल्पिक विधि तथा माध्यमको प्रयोगद्वारा शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाउन खोज्दा के सन्तुष्ट हुनसक्ने अवस्था छ त?
५-के हाम्रा बालबालिका विद्यालयमा मात्रै  सिक्न भएका हुन् ? सिकाइको वैकल्पिक माध्यममा किन प्रभावकारी सिकाइ हुदैन त?
६-शिक्षण-सिकाइमा प्रविधिको प्रयोग यथोचित मात्र गर्न सकिएको छ ? छ भने अवस्था कस्तो छ? यदि छैन भने किन हाम्रा विद्यालय तथा शैक्षिक संस्था प्रविधि मैत्री छैनन् त?
७-हाम्रा शैक्षिक संस्था प्रविधिको प्रयोग र उपलब्धताको अवस्था कस्तो छ?
८-के हामीले हाम्रा बालबालिकालाई सिकाइमैत्री हुने गरि प्रविधिसँग परिचित तथा अनुकुलित बनएका छौँ ?
९-पछिल्लो चरणमा संघीय सरकारले विद्यालय संचालनको जिम्मा स्थानीय सरकारलाई दिए पछी अवस्था कस्तो छ त? के-के समस्या झेलिरहेका छन्। के अन्य विकल्पका बारेमा पनि छलफल जारी छ त?

यी माथि उल्लेखित सवालका बारेमा घोत्लिनु पहिले कोरोना(Covid19)को महामारी पछि समुदाय तथा परिवारमा रहेका बालबालिकाहरु के गरिरहेका छन्? के बालबालिकाका लागि सिकाइ मैत्री र बालमैत्री वातावरण पाइरहेका छन् त? भनेर सोच्नु र आ-आफ्नो तह/क्षेत्रमा  प्रश्न सुरु गर्ने बेला भएन र?

परम्परागत शिक्षा प्रणालीबाट हामी औपचारिक शिक्षा प्रणालीमा प्रवेश गर्‍यौँ। औपचारिक शिक्षा प्रणालीमा प्रवेश गर्नु सायद समयको माग र आवश्यकता पनि थियो। तर परम्परागत शिक्षा प्रणालीमा जसरी परिवार तथा समुदायबाट बालबालिकाको सिकाईमा सहयोग पुर्‍याइन्थ्यो अहिले अवस्था अलि फरक छ। अहिले विद्यालयलाई मात्रै सिकाइको थलो मानिन्छ। के साच्चिकै विद्यालय मात्रै सिकाईको थलो हो त? विद्यालय बाहिर हाम्रा बालबालिका सिक्नै सक्दैनन् वा सिकाउन चाहदैनौँ? हाम्रा घर,समुदाय कति सिकाइ मैत्री छन् त? यी कुरामा गम्भीर भएर मस्तिष्क मन्थन गरौँ न। जवाफ आफैं पाउने छौँ।

२१औं शताब्दी विज्ञान र प्रविधिको युग हो। सिकाइलाई पनि हामीले प्रविधिसँग जोड्न जरुरी छ। वर्तमान समयमा शिक्षक(सहजकर्ता),विद्यार्थी र अभिभावकसँग प्रविधिको प्रयोग र पहुँच विस्तार भएको छ। मोबाइल,ल्यापटप-कम्प्युटर तथा रेडियोको प्रयोग गर्ने संख्या पछिल्ला वर्षहरुमा उल्लेख्य मात्रामा वृद्धि भएको छ। प्रविधिको प्रयोगमा वृद्धि भए पनि शिक्षण सिकाइमा भने प्रविधिको प्रयोग नगन्य नै छ। हाम्रा विद्यालयहरु अनुशासनका नाममा विद्यालयमा विद्यार्थीलाई मोबाईल प्रयोग गर्न दिदैनन्। त्यसैले बालबालिका विद्यालय बाहिर मोबाइललाई फेसबुक चलाउन,गेम खेल्न,टिकटक बनाउन, इत्यादि सिकाइमा सहयोग पुर्‍याउने भन्दा अन्य काममा बढी प्रयोग गरिरहेका छन्। यसरी धेरैको हातमा रहेको मोबाइल सिकाइको साधन र माध्यम बन्न सकेको छैन। वर्तमान समयमा विद्यालयले मोबाइलको प्रयोगमा प्रतिबन्ध भन्दा पनि मोबाइललाई सिकाइमा सहयोग पुर्‍याउने साधनका रूपमा प्रयोग गर्न सहजीकरण र प्रोत्साहित गर्ने कि?

सिकाइमा प्रविधिको प्रयोगले सिकाइलाई सहज तथा रोचक बनाउन बनाउछ।जसका कारण बालबालिकामा द्रुत सिकाइ हुनुका साथै रुचि अभिवृद्धिमा पनि टेवा पुर्‍याउछ। कोरोना महामारीसँगै शिक्षण सिकाइमा प्रविधि तथा वैकल्पिक विधिको प्रयोगको कुरा पनि सुनिन थालेको छ। त्रिभुवन विश्वविद्यालय देखि दुरदराजका विद्यालयको शिक्षण सिकाइमा वैकल्पिक विधिको प्रयोगका विषयमा बहस सुरु भएको छ। वैकल्पिक विधि तथा प्रविधिको प्रयोगको विषयमा छलफल चलिरहे पनि प्रयोगको अवस्था दयनीय छ। नेपालकै जेठो विश्वविद्यालय त्रि.वि.ले आफ्नो शिक्षण सिकाइमा प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको वैकल्पिक विधि तथा प्रविधि दुरदराजका विद्यालयले कसरी गर्न सक्थे र? दुर्गमका हाम्रा विद्यालय जसको १ देखि ५ सम्मको कक्षा संचालन २ वटा कक्षाकोठामा गरिरहेका छन्। जहाँ पानी पर्दा छाता ओढेर पढ्ने, पढाउने काम हुन्छ। यस्ता विद्यालयको शिक्षण सिकाइमा प्रविधिको प्रयोगको अवस्था कस्तो होला कल्पना गरौँ।

अब के गर्ने त?
यस्तै हो चलेकै छ, चल्दै गर्छ भन्ने कि? केहि सकारात्मक कुराको थालनी गर्ने कि सरकार! म आफू रहेको स्थानीय तहको योजना तर्जुमा सम्बन्धि १ चरणको छलफलमा मैले शिक्षण सिकाइमा प्रविधिलाई  जोड्ने खालका योजना तथा कार्यक्रममा बजेट विनियोजन गर्न माग गरेको थिए। जसका लागि "एक विद्यालय एक प्रविधिमैत्री शिक्षक", "एक विद्यालय एक ल्यापटप" जस्ता केहि संभावित नमूना कार्यक्रम पनि प्रस्ताव गरेको थिए। पछी योजना तथा कार्यक्रममा परेन छ। किन बजेट विनियोजन गरिएन त? भन्ने प्रश्न सजिलो जवाफ छ बजेट पुगेन। तर वास्तविकता भने अलि फरक छ। बजेट नपुगेको भन्दा पनि हाम्रा जनप्रतिनिधिको प्राथमिकतामा शिक्षा क्षेत्र परेन।करिब ८०% भार सार्वजनिक शिक्षाले बोकेको छ।तर बजेट असाध्यै न्यून छ। नेपालमा शिक्षा क्षेत्रको बजेटमा शिक्षक कर्मचारीको तलब समेत जोडेर विनियोजन गरिएको हुन्छ जसका कारण झट्ट हेर्दा शिक्षा क्षेत्रको बजेट आकार ठुलै मानिन्छ पनि। शिक्षा क्षेत्रमा नयाँ योजना तथा कार्यक्रमका लागि बजेट विनियोजनको प्रसंग आउदा त्यही बजेटलाई देखाए उ तेत्रो बजेट विनियोजन भएको छ त शिक्षा क्षेत्रका लागि भनेर पन्छाउने काम गरिन्छ। तर शिक्षा क्षेत्रको बजेटको ठुलो हिस्सा शिक्षक कर्मचारीको तलबमै खर्च हुन्छ। नयाँ सिर्जनशील खालका योजना तथा कार्यक्रममा बजेट विनियोजन नै हुदैन वा भए पनि नगन्य हुन्छ


अब नयाँ सुरुवात गरौँ।
वर्षेनी हाम्रा ३ तहका सरकारले अतिथि सत्कार र चियापानको नाममा गर्ने करोडौं खर्चलाई कटौती गरौँ। सरकारमा रहनेहरुले यो खर्च कटौतीको विषयलाई विरोधको लागि गरिएको विरोधका रूपमा नबुझौँ। कटौती गरिएको खर्चलाई विद्यालयको छानो टाल्न,कक्षाकोठा थप्न,विद्यालयमा इन्टरनेट विस्तार गर्न,हाम्रा विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन जनप्रतिनिधिले गरेको त्याग र लगानीका रूपमा बुझौं। जसले आजका साझेदार र भोलिका कर्णधार-बालबालिकाको सर्वाङ्गिन विकासमा टेवा पुर्‍याउनेछ।साथ-साथै नेपालले अन्तर्राष्ट्रिय मंचमा गरेको प्रतिबद्धता पुरा गर्न र दिगो विकास लक्ष्य हासिल गर्न पनि टेवा पुग्नेछ। सरकारले परिकल्पना गरेको "सुखी नेपाली समृद्ध नेपाल" को सपना पुरा गर्न शिक्षा क्षेत्रको पनि महत्त्वपूर्ण भुमिका रहन्छ। त्यसैले आउनु होस् शैक्षिक विकासका लागि हातेमालो गरौँ।माथि उल्लेखित सवालहरुको जवाफ खोजी अभियान आजैबाट थालौँ। आ-आफ्नो क्षेत्रबाट जे सकिन्छ त्यसका लागि सकारात्मक प्रयासको थालनी गरौँ।

विपद्का बारेमा एउटा चर्चित भनाइ छ, "हरेक विपत्तिलाई सम्पत्तिमा रुपान्तरण गरौँ!" त्यसैले यो कोरोना महामारीलाई पनि एउटा सम्पत्ति र अवसरका रूपमा बुझौँ। हाम्रा विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने महाअभियानको थालनी गरौँ।

अन्त्यमा,एउटा चिनियाँ भनाइको सार:-
"एक वर्षका लागि हो भने धान रोपौँ!
पचास वर्षका लागि हो भने रुख रोपौँ!!
सय वर्षका लागि हो भने शिक्षामा लगानी गरौँ!!!
जय शिक्षा!!!

नारायण के.सी.पोख्रेल 
        रोल्पा 

Facebook:- Narayan kc-pokhrel

twitter:-@Narayankcpokhr1

instagram:-pokhrel_nrn_kc






Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …